श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव

जनहितमा जारी ।

यी फोटोहरु गतवर्ष यतिबेलातिरै श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा कोठाकोठाको ढोका अघि खाना लग्दिनु अघि खिचेका फोटोहरु हुन्।
श्रीमानको पोजेटिभ रिपोर्ट आएको पाँचौ दिनपछि जब दुई छोरीहरूको पनि पोजेटिभ नै रिपोर्ट आयो त्यतिबेला म स्तब्ध भएकी थिएँ... र भान्सामा एक्लै रोएकी थिएँ।रुँदै गर्दा जब तातो आँसु मेरो हातमा पर्यो तब मैले तत्कालै बेसिनमा गएर मुख धोएँ र आफूलाई बलियो बनाएँ।
हुन त छोरीहरूमा त्यस्तो कुनै लक्षण थिएन र पनि मेरो सामु उनीहरूलाई रिपोर्टबारे जानकारी दिएर आइसोलेसनमा राख्न मानसिक रुपमा कसरी तयार बनाउने भन्ने ठूलो चुनौती थियोे ।उता श्रीमानको स्वास्थ्य अवस्था जटिल थियोे भने यता नानीहरूलाई सबै ठिकै हुन्छ भनेर सम्झाउनु र कोरोनासँग एक्लै लड्नु कम चुनौती थिएन र पनि करिब महिना दिनको कठोर सङ्घर्षपछि तीनैजना कोरोनामुक्त भए ।
यसै सन्दर्भमा केही दिन अघि सामाजिक सञ्जालतिर कोरोना संक्रमितलाई अव्यवस्थित किसिमले खाना दिएको दृश्य देखेपछि त्यो बेलाको मेरा केही अनुभव सेयर गरौं लाग्यो ।
१. तपाईंको परिवारको कुनै सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ र तपाईं मात्रै ठिक हुनुहुन्छ भने पनि सबैभन्दा पहिले तपाईंले आफूलाई सम्हाल्दै परिवारलाई सम्हाल्नु पहिलो प्राथमिकता हो ।
२. पोजेटिभ देखिएको सुरुवाती दिनहरुमा समाचार,सामाजिक सन्जाल अनि आफन्त र साथीभाइका फोनहरुबाट टाढा रहनुहोस्।ता कि उहाँहरुलाई कहाँबाट ? कसरी पोजेटिभ भयो भन्ने जस्ता उहीँ कुरा पटकपटक दोहोर्याउँदै गर्दा अहो! विचरा भन्ने शब्दले कोरोना संक्रमितको मनोबल नघटोस्।
३.हरेक दिन बिहान योगा, ध्यानबाट सुरुवात गर्नुहोस् र तातोपानीको बाफ लिनुहोस् ।बाफ लिदा तुलसीको ४/५ पत्ता राख्दा धेरै राम्रो ।तर सन्चो जस्ता अौषधीको प्रयोग स्वास्थ्यकर्मीको सल्लाह बिना धेरै प्रयोग नगर्नुहोस् ।
४.हाम्रै भान्सामा उपलब्ध हुने अर्गानिक बेसार,अदुवा , जिरा, ज्वानो, मेथी ,मरिच, अलैंची , तेजपत्ता लगायतका घरेलुु जडिबुटी राखेर डेढ दुई घन्टा उमालेको पानी दिनमा कम्तीमा ३/४ पटक पिउनुहोस्।
५.यस्तो बेलामा खाना फिटिक्क रुच्दैन , शरीरमा उठ्ने, हिँड्ने जाँगर हुँदैन र पनि मैले खानुपर्छ ,उठ्नुपर्छ र यो कोरोनालाई जित्नुपर्छ भन्ने दृढ अात्म विश्वास राख्नुहोस्।
६.अत्यधिक ज्वरो आएमा, खोकी लागेमा वा श्वासप्रश्वासमा केही समस्या भएमा पहिल्यैदेखि आफ्नो सम्पर्कमा रहनुभएका डाक्टर वा स्वास्थ्यकर्मीसँग बारम्बार सुझाव लिइरहनुहोस्।
७.सकेसम्म संक्रमित बस्ने कोठामा एउटा सानो बाटा(बाफ लिनका लागि ) इलेक्ट्रिक किट्ली होस् ता कि संक्रमितलाई आवश्यक परेको बेलामा आफै पानी तताएर पिउन र बाफ लिन सहज होस्।
८.अब तपाईंको भान्सामा बढीमात्रामा पेपर पिलेट , गिलास चम्चा वा दुना टपरीहरुको प्रयोग गर्नुहोस् ता कि संक्रमितले खाना खाएपछि आफूले खाएको पेपर पिलेट वा दुना टपरी आफै राम्रोसँग प्लास्टिकमा प्याक गरेर डस्टबिनमा सुरक्षित साथ राख्न सकोस् यसका लागि प्लास्टिकको प्याकेट नै संक्रमितको कोठामा राखिदिनुहोस्।
९.सबैभन्दा मुख्य कुरा त तपाईंको मनमा नकारात्मक सोचाइ आउनै नदिनुहोस् बरु तपाईंलाई पुस्तक पढ्न या संगीत सुन्न मनपर्छ र सक्ने अवस्था छ भने यतातिर ध्यान दिनुहोस् र कोरोनालाई जित्नुहोस्।
कोरोनाबाट आफू पनि बचौं!
अरुलाई पनि बचाअौं!!
धन्यवाद ।😊
Credit: Gauri Tamu

Comments

Popular posts from this blog

The youths cleaned the Phewa canal by mobilizing groups through social media

कोरोना: साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन

नक्शामा देशभक्ति देखाएर मुद्दा पश्चिमाहरुका हातमा हस्तान्तरण गर्ने षडयन्त्र !