फेस बुक कि श्रद्धाञ्जली बुक ?

प्रसङ्ग कोरोना - प्रदीप कुमार मैनाली

आफन्त, नातेदार, गुरु, साथीभाइ, नेता, समाजसेवि, कलाकार जो सुकै हुन्, उनीहरूको अप्रत्याशित मृत्युको खबरले मर्माहत हुनु स्वभाविक हो। जति नजिकको सम्बन्ध हुन्छ त्यति नै आघात बनिन्छ मृत्युको खबरले । छ्टपटी हुन्छ, कहाँ भनौं, कसो गरौं हुन्छ र स्वभावैले नजिकको मान्छे लाई फोन खबर गरिन्छ अनि श्रद्धाञ्जलीका दुई शब्द अर्पण गरेर मृतक प्रति श्रद्धा राख्छौं हामी । यसो गर्नु सहि पनि हो एक हदसम्म । तर अहिलेको अवस्था त्यस्तो रहेन । कोरोनाको कारणले मृत्यु हुने संख्या दिनानुदिन बढ्दै गएको, धेरै जना अस्पतालमा उपचार गराइरहेका, कतिपय घरमै उपचार गराइरहेका हुनाले, यस्तो खबरले बिरामीहरूको मनोबल घट्छ ।
आज बिहानै कोरोना सक्रमित एकजना साथीले भन्दै थिए, "बेलुका दश बजे फलानोको कोरोनाले मृत्यु भयो भन्ने खबर सुने देखि सुत्नै सकेको छैन, फेसबुक हेर्यो कि यौटै मान्छे मरेको खबर सयौंले हालेको देख्दा झन् डर पो लाग्न थाल्यो " ।
म बिरामी नभएको मान्छेलाई त यस्तो खबर तारातार सबैले जतासुकै हालेको देख्दा मनमा एक किसिमको नजानिदो डर उत्पन्न हुन्छ भने उपचार गराइरहेको ब्यक्तिलाई त नहुने कुरै भएन। साथी भन्दै थिए "फेस बुक हेर्यो कि मेरो पनि मुटु रोकिन लागेको जस्तै हुन्छ"।
फेरि यो श्रद्धाञ्जली पनि बढो अचम्मको हुँदो रहेछ केहि ब्यक्तिहरूकाे हकमा ।
मेरा छिमेकी जो बिसौ बर्ष देखि दाजुभाइ सग बोल्नु, सरसापट, आउजाउ, सहयोग गर्नु त के मुद्दा गरेर जिवनभर दाजुलाई दुख दिएका थिए । उनैले मेरो प्यारो दाइ हजुरको मृत्युले हामी अत्यन्तै दुखी भएका छौं, अभिभावक गुमाउँदा मर्माहत छौं- हार्दिक श्रद्धाञ्जली मेरो प्यारो दाजु भनेर लेखेको देखेँ ।
त्यस्तै केही महिना अगाडि आफ्नो काकाको छोराले अल्पायुमै मृत्युवरण गर्दा ठुलोबुबाको छोरा दाइले लेखेका थिए- "भाइ तँलाइ बचाउन के चैँ गरिएन, हाम्रो केहि लागेन भगवानको प्यारो भइस्- हार्दिक श्रद्धाञ्जली"- जब कि उनले सहयोग त के अस्पतालमा एक पटक हेर्न सम्म गएका थिएनन् । आर्यघाट चैँ पुगेका थिए । उनको उपस्थिति देख्दा मेरो मनले भनिरहेको थियो- सायद दु:ख पोख्न, सहयोग गर्न, श्रद्धाञ्जली दिन नभनएर ठिक्क पर्यो भन्न तिम्रो उपस्थिति भएको हुनुपर्छ ।
मान्छे : प्रायः
👉️श्रद्धाञ्जली लेख्न आतुर हुन्छ।
👉️ शुभकामना,
बधाई
लेख्न हात खोलिन्छ कि मुख फुत्किन्छ कि भन्छ ।
👉️अरुको कुनै सानो गल्ती भेट्यो कि भित्रभित्रै प्रचारप्रसार गर्न उद्घत हुन्छ।
यौटै ब्यक्तिको मृत्युमा एकै जनाले आफ्नै वालमा दुई तीन पटक सम्म श्रद्धाञ्जली दिएको पनि देखियो: कहिले मृतक सँग बिताएको घटना लेखेर, कहिले मृतको फोटो राखेर त कहिले मृतक सँगै आफ्नो पनि फोटो राखेर । मृतक सँगै आफ्नो फोटो राखेर लेख्नेहरू देख्दा त मृतकलाई श्रद्धाञ्जली दिएको हो कि आफ्नो फोटो पनि राख्ने दुबैलाई हो भन्ने दिग्भ्रमित हुन पुग्छु । यस्तो अवस्था प्राय ठुला उद्योगपति, ब्यापारी, कलाकार, नेता जस्ता प्रतिष्ठित ब्यक्तिको मृत्युमा गर्ने गरेको देखिन्छ । सम्भवत उ सँग मेरो सम्बन्ध थियो भन्ने देखाउन हुनुपर्छ ।
यस्तै यस्तै ; जसले जिन्दगीभर खुट्टा तानिरह्यो, चुक्ली गरिरह्यो, उसलाई सिध्याउन अर्को मान्छे प्रयोग गरिरह्यो- उसैले एक पेज लामो भूमिका बाँधेर श्रद्धाञ्जली दिएको पनि तपाईं हामीले देखेको हुनुपर्छ । जो ब्यक्ति जिन्दगीभर काम लागेन- उसलाई शत्रुवत ब्यवहार गर्यो उसले श्रद्धाञ्जली दिनु र नदिनुमा के अन्तर रह्यो । यो सबै देख्दा मलाई शेक्सपियरको ओथेलोमा रोडिरिगोको भुमिका याद आउँछ।
हुन त धर्म, इतिहास र युद्धमा शत्रुपक्षलाइ दाह सस्कार गरेको, श्रद्धाञ्जली अर्पण गरेको देखिन्छ । मेरो आसय पनि श्रद्धाञ्जली दिनु हुँदैन भन्ने त कदापि हुँदै हैन। तर कोरोना महामारीको अवस्थामा त यसले झन् अरु आतंकित गराउँछ, भयवित बनाउँछ र मनोबल गिराउँछ भन्ने हो।
के गर्न सकिन्छ त?
सकेसम्म फेसबुकमा राख्दै नराख्ने। आफन्त साथिभाइ, नातेदार क-कसलाई भन्नुपर्ने हो- फोनबाट या मेशेन्जरमा भन्ने ।
फेसबुकमा राख्नै पर्ने भएमा त्यस अगाडि कसैले नराखेको भए मात्रै राख्ने। कसैले राखिसकेको छ भने, त्यसैमा के कति भुमिका बाँधेर श्रद्धाञ्जली व्यक्त गर्नुपर्ने हो गर्ने ।
कोभिड सक्रमणको त्रास कम गरौं भन्ने मात्रै मेरो आशय हो।
कसैसँग प्रसङ्ग मिल्न गएमा, चित्त दुखेमा क्षमा चाहन्छु ।
बचौँ र बचाऔं

Comments

Popular posts from this blog

Crimes Against Humanity Against the Citizens.

Corona's Apprehensive lifestyle

म एउटा बेश्यालय खोल्न चाहन्छु